काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निरन्तरको आन्दोलन र जनताका तत्कालीन समस्या र मागका कारण आफूले योजनामुखी काम प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताएका छन् ।
बिहीबार जेन जेड घर उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पदभार सम्हाले यता एकपछि अर्को आन्दोलन भइरहेकाले मन्त्रालयका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नपाएको गुनासो गरेका छन्।
उनले जेन जेड पुस्तासँग तत्कालीन सरकारले गरेका सहमतिको कार्यान्वयनको लागि आवश्यक नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भए पनि परिस्थिति अनुकूल नभएको बताए । यद्यपि जेन जेड शहीदका परिवार र जेन जेड पुस्ताका मागहरू पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।
उनले जेन जेड आन्दोलनलाई लिएर राजनीति गरिरहेका जेन जेड अगुवाप्रति आपत्ति पनि जनाएका छन् । उनले पछिल्लो समय राजनीति गरिरहेका जेन जेड प्रतिनिधिहरूको नियत ठिक नरहेको आशंका पनि गरेका छन् ।








