Logo
२२ श्रावण २०८३, शुक्रबार
|  Fri Aug 7 2026

जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको प्रयास,दुई कार्यकारी आदेश जारी


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतासीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन् । केही साताअघि मात्र अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयास अस्वीकार गरेको थियो।

बिहीबार जारी गरिएको पहिलो कार्यकारी आदेशले जन्मसिद्ध नागरिकता नपाउने गैर–नागरिकहरूको दायरा विस्तार गरेको छ । आदेशअनुसार दुवै अभिभावक गैर–नागरिक भएका अवस्थामा, यदि तीमध्ये एक विदेशी आतंकवादी समूहको सदस्य, विदेशी सरकारको कर्मचारी, जालसाजीमार्फत नागरिकता लिन खोजेको वा संघीय कानुनअनुसार नागरिकता नदिइने अमेरिकी भूभागमा बसोबास गर्ने व्यक्ति भएमा अमेरिकामा जन्मिने शिशुले स्वतः अमेरिकी नागरिकता प्राप्त गर्ने छैन।

दोस्रो आदेशले ‘बर्थ टुरिजम’ अर्थात् सन्तानलाई अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिलाहरू अमेरिका पुगेर बच्चा जन्माउने अभ्यासमा प्रतिबन्ध लगाएको छ।

ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले यो व्यवस्था धेरैअघि नै लागू हुनुपर्ने बताउँदै सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरे। उनले आफ्नो प्रशासनले अमेरिकी नागरिकताको उदार व्यवस्थाको दुरुपयोग गर्ने विदेशी तत्वविरुद्ध कदम चालिरहेको दाबी गरे।

ट्रम्प प्रशासनले लामो समयदेखि ‘बर्थ टुरिजम’को विरोध गर्दै आएको छ। प्रशासनका अधिकारीहरूले विशेषगरी रुस र चीनका नागरिकहरूले यस व्यवस्थाको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार अमेरिकामा ‘बर्थ टुरिजम’मार्फत वार्षिक करिब २२ हजारदेखि २६ हजार शिशु जन्मिने अनुमान छ। सरकारी तथ्यांकअनुसार सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट ९ हजार ६ सय शिशु जन्मिएका थिए।

ह्वाइट हाउसका गृह सुरक्षा सल्लाहकार तथा उपप्रमुख स्टेफन मिलरले पर्यटकको रूपमा अमेरिका आउने केही व्यक्तिको वास्तविक उद्देश्य सन्तान जन्माएर उसलाई स्वतः अमेरिकी नागरिक बनाउनु रहेको दाबी गरे। उनका अनुसार त्यस्ता बालबालिकाले पछि अमेरिकी नागरिकसरह विभिन्न अधिकार र सुविधा प्राप्त गर्छन्।

ट्रम्पले सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका थिए। तर, त्यसविरुद्ध परेको मुद्दामा अमेरिकी सर्वोच्च अदालतले गत जुनमा उक्त नीति संविधानविपरीत ठहर गर्दै जन्मसिद्ध नागरिकता कायम रहने फैसला गरेको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार