काठमाडौ । प्रधानमन्त्री बालने साहले नियत सफा भए जस्तोसुकै चुनौतिपूर्ण परिस्थितिमा पनि काम गरेर सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन् । सामाजिक संजालमार्फत प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारले गरेका केही काम र आएका परिणामको चर्चा गरेका छन् ।
उनले वर्षौंदेखि बन्द, घाटा र कमजोर व्यवस्थापनका कारण समस्यामा रहेका सरकारी उद्योग तथा संस्थानहरूमा सुधारका प्रयासले सकारात्मक परिणाम देखाउन थालेको दाबी गरेक छन् । राष्ट्रिय उद्योगलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन बढाउने र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित सरकारले सहजीकरण, समन्वय र व्यवस्थापन सुधारलाई प्राथमिकता दिएको उनले बताएका छन् ।
प्रधानमन्त्रीले पछिल्लो समय नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखाना विकास समितिलगायत संस्थानमा उत्पादन तथा आम्दानी बढाउने प्रयास भइरहेको उल्लेख गरेका छन् ।
नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको, विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनले उल्लेख गरेका छन् । चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिको उनले जानकारी दिएका छन् ।





