Logo
२५ श्रावण २०८३, सोमबार
|  Mon Aug 10 2026

‘त्यो अश्लील भिडियो मेरो हो भने जाँच गरियोस्, म राजनीतिक जीवनबाट संन्यास लिन्छु’ :ज्ञानेन्द्र शाही


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध लगाइएका आरोपको स्वास्थ्य परीक्षण तथा अनुसन्धानमार्फत सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा शाहीले आफूविरुद्ध मदिरा सेवन गरेको तथा सामाजिक सञ्जालमा अश्लील भिडियोसँग जोडेर गम्भीर आरोप लगाइएको भन्दै संसदको स्वास्थ्यसम्बन्धी निकाय तथा चिकित्सकको टोलीबाट आफ्नो स्वास्थ्य परीक्षण गर्न माग गरेका हुन् ।

उनले आफूले जीवनमा मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे । उनले आफूविरुद्ध आरोप लगाउने तथा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने व्यक्तिहरूको समेत स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए । शाहीले सामाजिक सञ्जालमा भेटिएको अर्कै व्यक्तिको अश्लील भिडियोलाई आफ्नो भन्दै प्रचार गरिएको दाबी गरे । उनले सामाजिक सञ्जालमा फैलाइएका आरोप र सामग्रीका कारण आफ्नो चरित्र तथा राजनीतिक प्रतिष्ठामाथि प्रश्न उठाइएको भन्दै त्यसको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे ।

शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाए ।  उनले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको भन्दै प्रतिपक्षको भूमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने बताए ।

उनले विगतमा समेत सरकारको आलोचना गरेकै कारण आफूमाथि पटक पटक आक्रमण भएको भन्दै सरकारलाई प्रश्न गर्न नछोड्ने बताए । हिजो सडकमा हुँदा पनि कमरेड प्रचण्ड र केपी ओलीको नेकपा सरकारको आलोचना गरेकै कारण पटक पटक आक्रमणमा परेर मृत्युको मुखबाट फर्केर आएको भन्दै प्रश्न गर्नबाट पछि नहट्ने बताए । उनले आफू सरकार ढाल्ने खेलमा नरहेको भन्दै वर्तमान अंकगणितमा प्रतिपक्षले सरकार ढालेर नयाँ सरकार बनाउन सक्ने अवस्था नरहेको बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार