सर्लाही । प्रहरीले सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर नजिकबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटरको डिकीमा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको ५१ लाख ३४ हजार बरामद गरेको हो ।
बरामद रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५०० थान, ५०० रुपैयाँ दरका ३ हजार १०८ थान, १०० रुपैयाँ दरका ७०० थान र ५० रुपैयाँ दरका २०० थान नोट रहेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिने क्रममा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईरी घाइते भएका थिए ।
उनलाई प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल, मलंगवा लगिएकोमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ । केही दिनअघि प्रहरीले वीरगंजबाट श्रोत नखुलेको साढे ५२ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको थियो ।





