Logo
३० श्रावण २०८३, शनिबार
|  Sat Aug 15 2026

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


जकार्ता । इन्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तस्थित फ्लोरेस क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले जनाएको छ।

स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि गएको भूकम्पको केन्द्र १५ किलोमिटर गहिराइमा रहेको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ।

भूकम्पपछि फ्लोरेस द्वीपको मुख्य सहर माउमेरेमा सर्वसाधारण घर तथा भवनबाट बाहिर निस्किएर सडकमा आएका थिए । माउमेरे बन्दरगाहमा यात्रुहरू अन्तरद्वीपीय फेरी चढ्न प्रतीक्षा गरिरहेका बेला टर्मिनल भवनको ठूलो कंक्रिटको भाग खसेको थियो।

जहाजतर्फ जाने ग्याङवे भत्किँदा केही यात्रु समुद्रमा खसेका थिए। भूकम्पपछि सुनामीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकारीहरूले चेतावनी जारी गरेका थिए। चेतावनीपछि मानिसहरू मोटरसाइकलमार्फत तटीय क्षेत्र छाडेर भित्री भूभागतर्फ गएको देखिएको थियो। पछि सुनामीको चेतावनी हटाइएको थियो।

बीएनपीबीका अनुसार मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। यद्यपि, मृतक तथा घाइतेको वास्तविक संख्या यकिन गर्न घटनास्थलमा थप तथ्यांक संकलन भइरहेको छ।भूकम्पपछि सोही क्षेत्रमा शक्तिशाली परकम्पहरू समेत महसुस भएका छन्। तीमध्ये एउटा परकम्प ६.१ म्याग्निच्युडको रहेको थियो।

क्षतिग्रस्त भवनमा फसेका मानिसहरूको उद्धारका लागि खोज तथा उद्धार टोली परिचालन गरिएको छ। दुर्गम र पहाडी क्षेत्र भएकाले भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्न समय लाग्ने अधिकारीहरूले बताएका छन्।

बीएनपीबीले सर्वसाधारणलाई शान्त रहन तथा समुद्री तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। साथै, चर्किएका वा संरचनागत क्षति पुगेका भवनमा प्रवेश नगर्न चेतावनी दिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार