Logo
१८ भाद्र २०८३, बिहीबार
|  Thu Sep 3 2026

सांसद राईको ‘गुम्बामा भोग दिने चलन’भन्दै बोलेको अभिव्यक्तिले बौद्ध समुदायमा तरंग: छानबिन र स्पष्टीकरणको माग


काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बाबाट नवराज तामाङ (निमा लामा) हराएको विषयलाई लिएर संघीय संसद् प्रतिनिधिसभामा सांसद राजेन्द्र राईले दिएको अभिव्यक्तिप्रति गुम्बाले आपत्ति जनाएको छ। गुम्बाका अध्यक्ष हरि बहादुर बल, महासचिव हिरा बहादुर लामा र पञ्चवीर तामाङ (साङ्गे लामा)ले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमार्फत सांसद राईको अभिव्यक्तिले गुम्बा तथा समग्र बौद्ध धर्मावलम्बीप्रति गलत धारणा सिर्जना हुन सक्ने भन्दै ध्यानाकर्षण गराइएको हो।

संघीय संसद्को गरिमामय सदनमा बौद्ध धर्म, गुम्बा र धार्मिक अभ्याससँग जोडिएको विषयमा सांसदबाट व्यक्त अभिव्यक्तिले बौद्ध समुदाय तथा धार्मिक अभियन्ताबीच गम्भीर चासो पैदा गरेको छ। गुम्बाका पदाधिकारीले २०८३ साल श्रावण २५ गते संघीय संसद् प्रतिनिधिसभाको बैठकमा उक्त अभिव्यक्ति आएको दाबी गरेका छन्। उनीहरूका अनुसार कुनै निश्चित घटना वा व्यक्तिसँग जोडिएको विषयलाई आधार बनाएर सम्पूर्ण बौद्ध गुम्बा तथा बौद्ध धार्मिक परम्परामाथि सामान्यीकरण हुने गरी अभिव्यक्ति दिनु गम्भीर विषय हो।

गुम्बाका अनुसार नवराज तामाङ करिब ६ महिनादेखि गुम्बामा लामा अध्ययनका लागि बस्दै आएका थिए। पत्रमा उल्लेख भएअनुसार उनी २०८३ साल असार २३ गते दिउँसो करिब ४ बजे ‘बौद्धमा जाने’ भन्दै गुम्बाबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। त्यसपछि उनको खोजीका लागि परिवार तथा सम्बन्धित निकायसँग समन्वय गरिएको गुम्बाले जनाएको छ।

गुम्बाले सांसद राईले प्रतिनिधिसभाको बैठकमा बौद्ध गुम्बाहरूमा ‘भोग दिने चलन’ रहेको आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै, विषयवस्तुको पूर्ण अध्ययन नगरी गरिएको अभिव्यक्तिले बौद्ध धर्म र गुम्बाप्रति गलत सन्देश जान सक्ने जनाएको छ ध्यानाकर्षणपत्रमा ‘अहिंसा परमो धर्म’ लगायतका बौद्ध धार्मिक मान्यताको गलत अर्थ लाग्ने गरी अभिव्यक्ति आएको भन्दै त्यसबाट बौद्ध धर्मावलम्बीहरूको भावनामा असर परेको उल्लेख छ। यस्तो अभिव्यक्तिले सामुदायिक सद्भावमा समेत असर पर्न सक्ने भन्दै गुम्बाले सांसद राईलाई उक्त अभिव्यक्ति फिर्ता लिन तथा प्रतिनिधिसभामै क्षमायाचना गर्न आग्रह गरेको छ।

गुम्बाले नवराज तामाङ हराएको वास्तविक घटनाको निष्पक्ष अनुसन्धान तथा सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ। सांसद राईको अभिव्यक्तिले सिर्जना गरेको भ्रम अन्त्य गर्न आवश्यक पहल गरिदिन पनि गुम्बाले अनुरोध गरेको छ  ।

धर्ममाथि मिथ्या आरोप लगाउनु गम्भीर विषय’
धार्मिक अभियन्ता टेकराज तामाङले बुद्ध जन्मभूमि नेपालमै बौद्ध धर्म र धार्मिक संस्थामाथि संसद्को गरिमामय सदनबाट प्रश्न उठ्ने गरी अभिव्यक्ति आउनु गम्भीर र चिन्ताजनक भएको बताएका छन्। उनका अनुसार कुनै एउटा घटना, विवाद वा आरोपको अनुसन्धान नगरी त्यसलाई सम्पूर्ण बौद्ध समुदायको धार्मिक अभ्याससँग जोडेर प्रस्तुत गर्नुले विश्वभरका बौद्धमार्गीमा गलत सन्देश जान सक्छ।

“यो केवल बौद्ध समुदायको भावनामा चोट पुर्‍याउने विषय होइन, बुद्ध जन्मभूमिका रूपमा नेपालको धार्मिक पहिचान र गरिमासँग पनि जोडिएको विषय हो,” तामाङको भनाइ छ। उनले संसद्जस्तो जिम्मेवार स्थानमा बोलिने शब्दले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत प्रभाव पार्ने भएकाले धार्मिक तथा सांस्कृतिक विषयमा तथ्यको पुष्टि गरेर मात्रै धारणा राख्नुपर्ने बताए।

सांसदले सदनमा उठाएको विषय सार्वजनिक सरोकारसँग सम्बन्धित हुन सक्छ। तर धार्मिक आस्था र परम्परासँग जोडिएका विषयमा शब्द चयन, तथ्यको स्रोत र सन्दर्भ अझ संवेदनशील हुन्छ। विशेषगरी नेपाललाई बुद्धको जन्मभूमिका रूपमा विश्वले चिन्ने भएकाले यहाँका बौद्ध गुम्बा, संस्कृति र परम्पराबारे संसद्बाट आउने अभिव्यक्ति सामान्य राजनीतिक बहसमा सीमित रहँदैन। त्यसैले अहिले बौद्ध समुदायको मुख्य प्रश्न छ—सांसद राईले संसद्मा के तथ्यका आधारमा यस्तो अभिव्यक्ति दिए ? उनले उल्लेख गरेको ‘भोग दिने चलन’ कुन गुम्बा, कुन परम्परा र कुन प्रमाणमा आधारित थियो ?

यदि कुनै गुम्बामा गैरकानुनी वा आपत्तिजनक गतिविधि भएको प्रमाण छ भने त्यसको निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ। तर एउटा घटनालाई आधार बनाएर समग्र बौद्ध धर्म, गुम्बा र धार्मिक समुदायमाथि प्रश्न उठाउने अवस्था सिर्जना भए त्यसले धार्मिक सद्भावमै असर पार्न सक्छ। छ्योर्तेन ताशी तामाङ गुम्बाले जारी गरेको ध्यानाकर्षणपत्रमा पनि यही विषयप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सांसदबाट व्यक्त अभिव्यक्तिले साम्प्रदायिक सद्भावमा खलल पर्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार