काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघेको आरोप लगाएका छन्।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतदेखि ग्यास अभाव, महँगी, स्वास्थ्य सेवा र निजी क्षेत्रसँग सरकारको व्यवहारसम्मका विषयमा सरकारको आलोचना गरे।
भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले बेपत्ताको खोजी तथा उद्धारलाई प्रभावकारी रूपमा निरन्तरता दिन सरकारसँग माग गरे। प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि, ग्यास, इन्धनलगायत अत्यावश्यक सामग्री तत्काल पुर्याउनुपर्ने उनको भनाइ थियो।
उनले राहत वितरणमा वृद्धवृद्धा, गर्भवती, सुत्केरी, बालबालिका, बिरामी तथा अपाङ्गता भएका नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने बताए। रसुवा र नुवाकोटका दुर्गम तथा अतिप्रभावित बस्तीमा राहत पुग्न नसकेको गुनासो रहेको भन्दै सरकारले राहत कहाँ, कसलाई र कति पुग्यो भन्ने विवरण सदनलाई जानकारी गराउनुपर्ने माग गरे।








