काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारले अध्यादेशमार्फत गरेका नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद राईले पुराना कर्मचारी हटाएर आफूअनुकूलका व्यक्तिलाई नियुक्त गर्न अध्यादेश ल्याइएको आरोप लगाउँदै त्यसबाट भएको सुधारको विवरण मागेका छन् ।
उनले सरकारले पुरानै ऐनलाई पुनः कार्यान्वयनमा ल्याउन खोजेको भए अध्यादेश ल्याउनुपर्ने आवश्यकता नरहेको बताए । उनले विधिसम्मत प्रक्रियाबाट अघि बढ्न सकिने अवस्थामा अध्यादेशमार्फत कर्मचारी हटाउने र नयाँ नियुक्ति गर्ने काम गरिएको भन्दै त्यसको पारदर्शितामाथि प्रश्न उठाए ।
सांसद राईले सरकारले आफूले काम गर्न नसक्ने तर त्यसको दोष अरूलाई दिने प्रवृत्ति देखिएको टिप्पणी गरे । अध्यादेशमार्फत नियुक्त गरिएका कर्मचारीले कुन–कुन क्षेत्रमा सुधार ल्याए भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो ।








