ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्ने बताएका छन् ।
ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो ।”
उनले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका निम्ति स्वदेशमै उत्पादनशील रोजगारीको अवस्था सिर्जना गरी हरेक नागरिकमा देशभक्तिको भावना अभिवृद्धि गर्ने शिक्षा प्रदानमा विशेष ध्यान दिनुपर्ने बताए ।
कुनै पनि शैक्षिक संस्थाका लागि निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहास भएको बताउँदै राष्ट्रपति पौडेलले ज्ञानको उज्यालो ज्योति छर्ने जेभियर्स स्कुलको जीवन्तयात्रा, अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको एक अभिन्न अङ्गका रूपमा अघि बढाएको एउटा गौरवमय इतिहास भएको बताए ।
नेपालको शैक्षिक विकासमा यस विद्यालयले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदान उत्तिकै अनुकरणीय रहेको बताए ।
शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै राष्ट्रपति पौडेलले परिवर्तनशील समयसँगै हाम्रा आधारभूत मानवीय मूल्यहरू अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याए ।








