Logo
१८ आश्विन २०८३, आईतवार
|  Mon Oct 5 2026

‘म्युजिकल चेयरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो’:गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए। रसुवामा आएको बाढीपहिरोका कारण हजारौँ नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूलाई मन नभएको बताए।

थापाले कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा बन्न पुगेको उनको भनाइ थियो।

उनले राजनीतिलाई ‘म्युजिकल चेयर’ जस्तो बनाइएको बताए। प्रधानमन्त्री बन्ने, फेरि प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने र फेरि त्यही पदमा दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर बनाएको उनको भनाइ थियो।थापाले सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म अत्यधिक राजनीतीकरण भएको बताए। फेसबुक, ट्वीटरलगायतका माध्यमदेखि दैनिक जीवनका विषयसम्म राजनीतिक आँखाबाट हेर्ने अवस्था बनेको भन्दै उनले त्यसले समाजमा असन्तुष्टि र ध्रुवीकरण बढाएको बताए।

उनले भदौ २३ र २४ को घटनालाई त्यसैको परिणामका रूपमा व्याख्या गरे। त्यसपछि कांग्रेसले आफूलाई सम्हाल्न र सच्याउन विशेष महाधिवेशन गरेको तथा त्यसपछि भएको निर्वाचनमा जनताको फैसला स्वीकार गर्नुपरेको उनले बताए।

कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै उनले हारलाई निराशाको कारण बनाउन नहुने बताए। अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

सभापति थापाले कांग्रेसले विगतका राजनीतिक उपलब्धिको चर्चा गरेर मात्रै अबको चुनौती सामना गर्न नसक्ने बताए। मुलुकमा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

उनले लामो समय मुलुकमा राजनीतिक संघर्ष र द्वन्द्व चले पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताए।उनले अब यस्ता प्रश्नको जवाफ खोजेर मात्रै कांग्रेस अघि बढ्नुपर्ने बताए। युवालाई देशमै रोजगारी र अवसर सिर्जना गर्ने, गाउँलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने तथा अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ थियो।

सभापति थापाले लोकतन्त्र र जनताको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताए। राजनीतिक अधिकार सुनिश्चित गरेपछि त्यसलाई नागरिकको जीवनमा अनुभूत हुने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनले बताए।

सभापति थापाले कांग्रेसले सिद्धान्तमा सम्झौता गरेर तत्कालको राजनीतिक लाभ खोज्न नहुने बताए। निर्वाचनमा हार जितलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउन नहुने भन्दै उनले मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्ने बताए।

उनले उद्योगी तथा व्यवसायीलाई सम्मान गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। निजी क्षेत्रलाई केवल कर उठाउने स्रोतका रूपमा नभई उत्पादन, रोजगारी र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !
विचार