Logo
१८ आश्विन २०८३, आईतवार
|  Mon Oct 5 2026

‘अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोस्, हामी साथ दिन्छौँ’: प्रचण्ड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले गगन थापालाई बधाई दिँदै उनको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए । उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए।

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा ‘क्रमभंग’ भएको उनको भनाइ छ। प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न थापालाई आग्रह गरे। पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए।

थापा अब पार्टीको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने प्रचण्डले बताए। त्यसका लागि आफ्नो साथ र सहयोग रहने उनको भनाइ छ।उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने बताए। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको उल्लेख गर्दै प्रचण्डले ती काम समयमै टुंग्याउनुपर्ने बताए। शान्ति प्रक्रियाका बाँकी विषय समाधान हुन नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको भनाइ थियो।

मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे। ‘सबै मिलेर समृद्ध नेपालको विकास गर्न सबै मिलेर जानेछौँ भन्ने विश्वास छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !
विचार