Logo
८ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 24 2026

बयान दिने कि नदिने भनेर परामर्शमा रमेश लेखक


जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिम परामर्शमा जुटेका छन् ।

उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्शमा रहेको स्रोतले बतायो ।

नेता लेखकले पनि बयानबारे ‘सल्लाह’ गरिरहेको बताए । आयोगले बयानका लागि बोलाएको पत्र भने नपाएको उनले बताए । ‘पत्र हिजो पठाएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन, के गर्ने भनेर सल्लाह गर्दैछु’ लेखकले भने ।

विशेष अदालतका तत्कालीन पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो । भ्रष्टाचार र सुशासनको मागसहित गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा सरकारबाट निर्मम दमन भएको थियो । आन्दोलनका क्रममा प्रहरीको गोली र आगजनीमा समेत परी ७६ जनाको ज्यान गएको थियो ।

सो घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो । सो सरकारमा रमेश लेखक गृहमन्त्री थिए । त्यसैले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउने आयोगले जनाएको छ ।

एमाले अध्यक्ष समेत रहेका ओलीले भने बयान नदिने बताउँदै आएका छन् । तर नेता लेखकले भने के गर्ने भन्ने निर्णय गरिसकेका छैनन् ।

महामन्त्री गगन थापा पक्षले भने जेनजी आन्दोलनमा भएका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने भन्दै लेखकले बयान दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार