Logo
२०८०, १६ चैत्र शुक्रबार
|  Fri Mar 29 2024

‘नेपालमा क्रियाशील रोटरीको बिश्व रेकर्ड बनाउन सफल भएका छौं’


सामाजिक संस्थाहरुमा रोटरी ईन्टरनेशनल विश्वकै धनी संस्थाको रुपमा चिनिएको छ । विश्वभरबाट प्राणघातक रोग भनेर चिनिने पोलियो रोग उन्मुलन गर्नका लागि अग्रणी भूमिका खेलेको रोटरीले विश्वभरमा विभिन्न किसिमका मानवीय कार्यहरु गर्दै आएको छ । हुनेखानेहरुको संस्था भनेर चिनिने रोटरीले पनि नेपालमा विभिन्न सामाजिक कामहरु गर्दै विशेष गरि शिक्षा, स्वास्थ्य, मातृ शिशु, वातावरण, पर्यावरण लगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

विभिन्न देशमा झैं नेपालमा पनि रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको नामबाट रोटरी क्रियाशील रहेको छ भने नेपालमा हाल एक सय २६ वटा स्थानीय क्बलहरु क्रियाशील छन् । रोटरी डिस्ट्रिक्ट ३२९२ ले नेपाल र भूटानमा रही काम गर्दै आएको परिप्रेक्ष्यमा हरेक वर्ष यसको नेतृत्व परिवर्तन हुने अन्तराष्ट्रिय नियम रहेको छ ।

जुलाई १ बाट नयाँ नेतृत्व चयन हुने रोटरीमा रोटरी वर्ष २०१९/२० लागि डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले गर्नुभएको नेतृत्वले केहि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका कामहरु पनि सम्पन्न भए । यीनै विषयमा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका वर्ष २०१९/२० लागि डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

नेपालमा रोटरीको विषयमा आम मानिसको बुझाई कस्तो पाउनुभएको छ ?

केहि मानिसहरुले रोटरीलाई यो धनी र सम्भ्रान्तहरुको संस्थाको रुपमा बुझेको पाईन्छ भने केहिले यसलाई विदेशीहरुको संस्थाको रुपमा चित्रण गरिहेका थिए, तर हाल रोटरीले गरेको काम र मानवसेवाको कार्य देखेपछि यसलाई दीनदुःखीहरुलाई सेवा गर्ने र सेवा भावले स्वार्थ भन्दा सेवा माथी रहेर काम गर्ने तथा बिश्वबाट पोलियो जस्तो प्राणघातक रोग उन्मुलन गर्ने संस्था भनेर चिन्दछन्, जुन वास्तविक बुझाई हो ।

रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानको डिस्ट्रिक्ट गभर्नरको रुपमा रोटरी वर्ष २०१९/२० को यहाँको कार्यकाल कस्तो रह्यो ?

रोटरीयन साथिभाईहरुको अतुलनीय सहयोगको कारण रोटरी बर्ष २०१९/२० उल्लेखनिय र केहि नयाँ कामहरुका कारण ऐतिहासिक रह्यो भन्ने मलाई लाग्दछ । रोटरीमा आवद्ध सम्पूर्ण साथिहरु, अग्रजहर र हामीलाई माया गर्ने सबैले स्वार्थभन्दा सेवा माथि भन्ने भावना राखि आफ्नो आफ्नो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाताबरण, मातृशिशु, मानव कल्याण र शान्तिको क्षेत्रमा उल्लेखनिय कार्य गर्नुको साथै अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारको सन्दर्भमा पनि उल्लेख्यरुमा सहभागिता जनाई विविध कार्यक्रमहरुको आयोजना गरि नेपालको पहिचान झनै विकास गर्न सफल भएको महसुस गरेको छु । बिश्वब्यापी कोरोना (कोभिड–१२९) को बिरुद्ध र जनचेतना जगाउन सरकारसँग समन्वय गर्दै स्थानीय, प्रदेश तथा केन्द्रिय तहमा पनि मानबताको लागि जुन कार्य भएको छ, त्यसको लागि म सम्पूर्ण रोटरीयन दाजुभाईहरु, शभेच्छुकहरु र सरकारप्रति ज्यादै आभारी छु ।

यहाँको कार्यकालमा भएका उल्लेखनिय कार्यहरु के के रहे ? जसलाई आम मानिसले अनुभूति गर्न सकुन् ।

हामी सबैको कार्य बर्षमा सबै रोटरीयनहरुले एक आपसमा सामिप्यको अनुभुति गर्ने गरि काम गर्न सक्यौं म त्यही नै ठुलो सफलता हो भन्ने ठान्दछु । रोटरीले एक सय १५ बर्षदेखि समुदायको आवश्यकता अनुसार सेवा कार्यमा आफुलाई समर्पित गरेको हामी सबैलाई थाहा भएकै विषय हो । तर यस बर्ष पहिलो भन्दा अझ बढि कार्यक्रम भएको तपाईंहरुले पनि महसुस गर्नु भएको छ होला भन्ने लाग्छ ! यो वर्ष हामीले एक सय २६ क्लबहरुबाट शिक्षा, स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्ध अनि सरकारसँग सहकार्य गर्ने कार्य अझ बढि भएको छ ।

नेपालमा पोलियो उन्मुलनपछि शिक्षा क्षेत्रमा गुणस्तरीयताको विकास कसरी गर्न सकिन्छ ? र नेपाललाई सन २०३० सम्म साक्षर नेपाल बनाउने संकल्प हामी सबैले लिएका मात्र छैनौं । त्यस कार्यमा लाग्न पनि सुरु गरि सकेका छौं भने देशभर एक सय वटा हेमोडायलिस मेसिन, क्याथल्याब जस्तो मुटु उपचार केन्द्र स्थापना, एक दर्जन विद्यालय निर्माण र विद्यालयमा शौचालय र खानेपानी जस्तो आधारभुत आवश्यकता, शिक्षाको गुणस्तरीय र शिक्षक प्रेरित पार्न करिब २० लाख रकमको विभिन्न पुरस्कारको स्थापना र नेपालमा क्रियाशील पत्रकारहरुलाई अझ जागरुक बनाउन १० लाख रुपैयाँको प्रत्येक २ बर्षमा प्रदान गरिने बासु अवार्ड ( प्रत्येक बर्ष दिईने जर्नो अवार्ड बाहेक) र १५ हजार डलर बराबर रकमको साउथ एशिया स्तरको ‘गोपाल–कमला भोकेसनल उत्कृष्ट अवार्ड’ को स्थापना लगायत मेघा हेल्थ क्याम्प र स्थानीय ४ सरकारी अस्पतालमा अल्ट्रासाउण्ड मेसिन लगायत अन्य उपकरणहश्र, ह्विल चेयर बितरण, २ वटा क्लक टावर, सिंचाइ र समुदायमा खानेपानी आयोजनाहरु निर्माणका साथै हस्तान्तरण गर्ने कार्य सम्पन्न गरेका छौं ।

साथै, कोरोनाबिरुद्ध जागरुक बनाउन स्थानीय र केन्द्रीय स्तरमा गरि करिब १८ करोड रकम बराबर पिपिई, मास्क, सेनाईजर, खाद्यान्न, आईसोलेसन वार्ड स्थापना, ६० वटा भेण्टिलेटर र १० वटा पिसिआर मेसिन लगायत ७ करोड रकम बराबरको पिसिआर किट्स उपलब्ध गराउन सक्षम भएका छौं । यी सबै कार्य हाम्रो एक सय २५ स्थानीय क्लबका रोटरीयनहरुसँगको सहकार्यमा भएको जानकारी गराउन पाउँदा खुसी छु ।

तपाईंको कार्यकाल अरु डिस्ट्रिक्ट गभर्नरको भन्दा अब्बल रह्यो भनेर पनि आईरहेका छन् ? यस विषयमा तपाईंको धारणा के छ ?

यस विषयमा पूर्व गभर्नर ज्युहरुको कार्यकाल भन्दा अब्बल रह्यो भन्नू भन्दा रोटरीमा हामी सबैसँग मिलेर सहकार्य गर्ने हो । टीमको नेतृत्व गर्ने भनेको सक्षम व्यक्तिहरुसँग समन्वय र सहकार्य गर्ने हो । गभर्नर मात्र एक्लैले केही गर्न सक्दैन । यो हामी सबैको टिमवर्क हो र हरेक बर्ष रोटरीले बिगत बर्षभन्दा राम्रो गर्दै गईरहेको हामी पाउछौं । तर म अरु भन्दा बढी भाग्यमानी भए तपाईंहरु जस्तो युवा र सहकार्य गर्ने अध्यक्षहरुले साथ दिनु भयो जसले स्वार्थ भन्दा सेवा माथि भन्ने भावनाबाट समर्पित भएर मानवीय सेवामा लाग्नुभयो र समुदायको आवश्यकता अनुसार कार्य गर्नुभयो । त्यसकारणले पनि यो बर्ष सफल रह्यो भन्ने मेरो विश्वास छ ।

विश्वभर धनी संस्थाको रुपमा चिनिने रोटरीमा नेपालको स्थान कहाँ छ ?

रोटरी धनीहरुको संस्था अवश्य हो, तर मनका धनीहरुको संस्था । रकमको हिसाबले हालको मूल्य अनुसार एक डलर बराबर एक सय २२ रुपैयाँ हुन्छ । त्यति हुँदाहुँदै यस बर्ष नेपालका रोटरियन रोटरी फाउन्डेसनमा करिब २१ लाख डलर सहयोग गरेका छन् । जुन एक बिश्व रेकर्ड हो । बिश्वभर ब्यक्तिगत सबभन्दा बढि रकम रोटरी फाउन्डेसनमा सहयोग गर्ने चितवन रोटरी क्लबका हाम्रै रोटरी मित्र डा. हरिश न्यौपाने हुनुहुन्छ । तर, रोटरी फाउन्डेसनबाट नेपालका विभिन्न परियोजनाको लागि करिब ४० लाख डलर पनि भित्र्याउन सफल भएका छौं । आज संसारमा दुईवटा रोग मध्ये एक पोलियो निर्मुल पार्न रोटरी सक्षम भएको छ । बिश्वमा क्रियाशील अन्य संस्थाहरुले जस्तो रोटरीले कुनै तलब, भत्ता वा भ्रमण खर्च भनेर लिँदैन भने रोटरीले जति पनि सेवा गर्दछ त्यस्ता कार्यमा आफ्नो कुनै पनि खर्च जोड्दैन । आज प्रत्येक सेकेन्डमा बिश्वका विभिन्न कुना काप्चाहरुमा १२ लाख ५० हजार रोटरीयनहरु कुनै न कुनै मानबिय सेवामा समर्पित भएर सेवा गरिरहेका छन् ।

रोटरीले गरेका कार्यहरुमा सरकारको भूमिका कति समन्वयकारी पाउनु भयो ?

सरकार भनेकै जनताको लागि काम गर्ने अभिभावक हो । रोटरी पनि स्थानीय समुदायको आवश्यकता पुरा गर्ने कार्यमा सदैव क्रियाशील संस्था हो । रोटरी पनि सेवा भावले निस्वार्थ मानव सेवामा जुट्ने भएको र सरकारको उद्देश्य पनि जनतालाई सेवा गर्नु भएको कारणले पनि दुवैको उद्देश्य एउटै भएको हुँदा यसमा सहकार्य र समन्वयकारी भुमिका हुनै पर्दछ । सरकारसँग बिगत बर्ष भन्दा अझ सहकार्य गर्ने भुमिका बढ्दै गईरहेको छ । केहि िदन अघिमात्र साक्षर नेपाल बनाउन सहकार्य गर्न सरकारले प्रतिबद्धता जनाई सकेको छ र स्थानीय र केन्द्रीय स्तरमा स्वास्थ्य, शिक्षा र खानेपानी परियोजना सम्पन्न गर्न सहकार्य अघि बढीरहेको छ ।

भर्खरै रोटरी नेपाल लिट्रेसी मिसनको को–चेयर हुनुभएको छ, नेपालको शैक्षिक स्थितीमा सुधार ल्याउन आगामी योजनाहरु के के छन् ?

साक्षर नेपालविना सुखि र समृद्ध नेपालको परिकल्पना गर्न सकिन्नँ । त्यसकारण रोटरीले शिक्षाको विकासको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसँग रोटरीका स्थानीय क्लबहरुसमेतको सहकार्यमा शिक्षक प्रशिक्षण, प्रौढ शिक्षा, समय अनुसार कम्प्युटर शिक्षा, दुर शिक्षा कार्यक्रम, बिद्यालयमा भौतिक र गुणस्तरीय शिक्षा उपलब्ध गराउने प्रयास सुरु भैसकेको छ । एक रोटरी क्लबले कम्तिमा पनि दुई सरकारी विद्यालयलाई नमुना विद्यालय बनाउनका लािग अंगिकार गर्ने गरि काम सुरु हुन लागेको छ । भोकेसनल स्कुल बनाउन पहल सुरु भैसकेको छ । शिक्षाको गुणस्तर बिकास, प्रौढ शिक्षा संचालनमा पहल गर्ने पहलमा छौं ।

प्राविधिक ज्ञान नभएका कारण दैनिक १५ सय यूवा श्रमशक्ति बाहिर गैरहेको त्यो शक्तिलाई प्राबिधिक प्रशिक्षण दिई उद्यमशीलताको विकास मात्र नभै श्रमको उच्च पारिश्रमिक पाउने बाताबरण लगायत १५ बर्ष मुनिका करिब १० हजार बालबालिकाहरुलाई प्रत्येक बर्ष स्कुलमा अध्ययन गर्न पठाउने र ‘पढांै लेखौं’ अभियान सुरु गर्ने लक्ष्य राखेका छौं ।


प्रतिक्रिया दिनुहोस !
विचार