पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गरेको र राजावादी संघ संस्थाका अगुवाहरुसँग भेटघाट गरेको खबरले सन्सनी मच्चिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले शक्तिपिठहरुको दर्शन गरेको खबरले पनि यतिबेला सञ्चारमाध्यमहरुमा प्राथमिकता पाएको छ ।
दशैंको अष्टमीका दिन राष्ट्रपतिले शक्तिपिठहरुको दर्शन गर्नु एउटा नियमित दैनिकी हो भन्नेहरु पनि छन् अनि राष्ट्रपतिको यो दर्शनलाई नियमित प्रकृया नभएर अलि अनौठो रुपमा लिने पनि छन् । राष्ट्रपति भण्डारीले बुधबार विभिन्न शक्तिपिठहरुको दर्शन गरिन् ।
छोरीहरुसहित शक्तिपिठहरुको दर्शनमा निस्किएकी भण्डारीले काठमाडौंको भद्रकाली, नक्साल भगवती, मैतिदेवी लगायतका शक्तिपिठहरुको दर्शन गरिन् भने शक्तिपिठको दर्शनकै लागि उनी काभ्रेको पाँचखाल पनि पुगिन् । राष्ट्रपति भण्डारीले दर्शनका क्रममा के कामना गरिन् त्यो उनै जानून् तर, शक्तिपिठको दर्शनका लागि राष्ट्रपति भण्डारी निस्किएपछि भने यसलाई केहीले पूर्वराजाको सम्बोधनसँग जोडेर पनि विश्लेषण गरे ।
हुन त यो एउटा संयोग मात्र होला, अघिल्लो दिन पूर्वराजाले हाम्रो जस्तो देशमा राजसंस्थाबिना प्रजातन्त्र असान्दर्भिक हुन्छ भन्नु अनि त्यसको भोलिपल्ट अष्टमीका दिन राष्ट्रपति भण्डारी शक्तिपिठको दर्शनमा निस्कनू । राष्ट्रपति भण्डारीले गणतन्त्र स्थायित्वको कामनाका साथ शक्तिपिठमा कामना गरेको कतिपयको अड्कल छ । गणतन्त्रका विरुद्धमा सडक प्रदर्शनले तिव्रता पाउँदै गएको अवस्था र पूर्वराजाले कडा राजनीतिक अभिव्यक्ति सार्वजनिक गरेको यो समयमा राष्ट्रपतिको यो प्रकारको दौडधुपलाई अनेक कोणबाट अथ्र्याइनुलाई अन्यथा मान्न भने नसकिएला ।





