माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन्। फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले भने दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
साफ इतिहासमै नेपाल पहिलो पटक फाइनल पुगेको हो। नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। साफमा भारत सबैभन्दा सफल टिम हो। हालसम्म ७ पटक उपाधि जितिसकेकोभारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ।
भारतविरुद्ध नेपालका विंगर तथा मुख्य खेलाडी अन्जन विष्टले खेल्ने छैनन्। दुई पहेलो कार्डको कारण उनले फाइनल खेल गुमाउनेछन्। यता मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपालमा नरहने घोषणा गरेका छन् ।








