Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

कर्णाली प्रदेशमा नयाँ सरकार बन्ने, मुख्यमन्त्री जीवनबहादुर शाही


कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारको ठाउँमा नयाँ सरकार बन्न लागेको हो। कर्णालीमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ। तीन दलबीचको सहमतिमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो। त्यसका लागि ढिलोमा कात्तिक दोस्रो साता वर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिनेछन्।

‘मलाई लाग्छ, ढिलोमा कात्तिक १० गतेसम्म नयाँ सरकार बन्छ,’ मुख्यमन्त्री बन्न लागेका नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले भने। कर्णालीमा तत्कालीन एमाले र माओवादी केन्द्रको संयुक्त सरकार थियो।

एमाले र माओवादीबीच भएको एकताबाट गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वैधता नपाएर साविकका एमाले र माओवादी नै ब्युँतिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि कांग्रेसले प्रदेश सरकारलाई समर्थन गर्दै मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो। त्यसैगरी एमालेका चार जना प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गरेर शाहीलाई विश्वासको मत दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार