काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको बढेको भाडा आजदेखि लागु भएको छ। बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ देखि लागु हुने गरी नयाँ भाडादर कायम गरेको थियो।
कार्तिक १ गतेदेखि लागु हुने गरी बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको हो। अब बागमती प्रदेश भित्रका छोटो दुरीमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ।
५ किमीसम्म यात्रा गर्न १८ रुपैयाँ तोकिएको छ। १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमी सम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्नेछ। १० वटा सुचकलाई आधार मानेर भाडा बढाइएको हो। लामो तथा मध्यमदुरीका सवारीसाधनका लागि केन्द्र सरकारले असार २९ गते २८ प्रतिशतसम्म भाडादर बढाइसकेको छ।





