
स्वस्थ शिशुको लागि स्तनपान अनिवार्य भएको सरोकारवाला निकायले बताएका छन् । पोषणयुक्त खानेकुरा खाएका आमाहरुले स्तनपान गराउँदा शिशु स्वस्थ्य रहने भएकाले अनिवार्य स्तनपान गराउनुपर्नेमा विभिन्न धर्मका धार्मिक अगुवाले जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ र वल्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा ललितपुरमा भएको हानिकारक परम्परागत अभ्यास अन्त्य र पोषण सुधारको लागि धार्मिक अगुवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आ आफ्नो धर्ममा शिशुलाई पूर्णस्तनपान गराउनुपर्ने उल्लेख गरिएको बताएका छन् । बच्चा जन्मनुअघि आमाको गर्भमा आएदेखि नै उसको परिवारका सदस्यले ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।
परिवार कल्याण महाशाखाका जनस्वास्थ्य निरीक्षक विष्णु बाँसकोटाले हालसालै गरिएको अध्ययनले स्तनपान दर ५६ प्रतिशतमा झरेको जानकारी दिनुभयो । स्तनपानले आमा र बच्चाको सम्बन्ध बढाउन मद्दत गर्नुका साथै आमाको मृत्युदर घटाउन मद्दत गर्ने भएकाले मिलेसम्म बच्चालाई ५ वर्षसम्म नभएपनि कम्तिमा २ वर्षसम्म अनिवार्य दूध चुसाउन अनुरोध गर्नुभयो ।
सरकारले २०३० सम्म आमा मृत्युदर घटाउने लक्ष्य लिएको र यो लक्ष्य पूरा गर्न विभिन्न धर्मका धार्मिक अगुवाहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ । आमा स्वस्थ हुनु नै बच्चा स्वस्थ हुनु भएको भन्दै उहाँले आमाले पोषणयुक्त खानेकुरा खानुपर्नेमा जोड दिनुभयो । कानुनले आमाको दूधको विकल्पमा अरु फर्मुला बेच्न नपाउने भनेको भएपनि व्यवहारमा त्यसो भएको नभएको उहाँले बताउनुभयो ।
बौद्ध दर्शनका अध्ययता डा। नरेशमान बज्राचार्यले शिशु गर्भमा आएदेखि नै ध्यान दिनसके मात्रै स्वस्थ शिशु जन्मने भन्दै सुरुदेखि नै ख्याल गर्नुपर्ने बौद्य दर्शनमा उल्लेख गरेको बताउनुभयो । उहाँले आमाको स्तनबाट आउने पोषणयुक्त तरल पदार्थ ९दूध० शिशु जन्मने वित्तिकै खुवाउनुपर्ने र त्यसमा परिवारका सबै सदस्यले महत्वका साथ ध्यान दिनुपर्ने बताउनुभयो ।
निरन नेपालका व्यवस्थापक एवं मुस्लिम धर्मालम्वी नहिदा बानुले बच्चाको स्वास्थ्यको लागि २ वर्षसम्म अनिवार्य स्तनपान गराउनुपर्ने विषय धार्मिक ग्रन्थ कुरानमा पनि समेटिएको उल्लेख गर्दै सुत्केरी हुनुअघि गर्भ अवस्थादेखि नै ध्यान दिनुपर्ने वताउनुभयो । गर्भअवस्थामा राम्रो खानपान नहुँदा सुत्केरी भइसकेपछि दूध नआउने समस्या हुने भएकाले उनीहरुको ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जंक फुड खाने बानीले पनि पर्याप्त दूध नआएको हुनसक्ने भन्दै उहाँले खानपानमा व्यवहार परिवर्तन नगरी केही नहुने बताउनुभयो ।
किरात धर्मका अनुयायी तिलक बहादुर चाम्लिङ् राईले किरात धर्ममा बच्चा पेटमा आउने बित्तिकै उत्सव मनाउने चलन भएको र बुहारीलाई सम्मान गर्ने प्रवृत्ति बढेको बताउनुभयो । पछिल्लो समय बेबी सावर गर्ने चलन जस्तै गर्भ अवस्थामा बच्चाको स्वास्थ्य लाभको कामना गर्दै पूजा आराधना गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । समुदायमा रहेका विभिन्न धर्मका राम्रा विषय अरुले पनि अनुकरण गर्नुपर्ने उहाँको भनाइ छ ।
जैन धर्मका सुस्मिता तिवारी सुवेदीले परिवारमा महिलाको भूमिका धेरै हुने भन्दै पेटको बच्चा ठूलो हुँदै जाने क्रममा गर्न नसक्ने अवस्थामा पुगेपनि घरका अरु सदस्यले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गर्भवतीलाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जैन धर्ममा रहेको जानकारी दिनुभयो ।
पास्टर समिर पुर्कोटीले चर्चमा व्यवहारिक शिक्षा हुने भन्दै खानपिन, सरसफाइ, माया, सद्भाव लगायतको ज्ञान दिने गरेको बताउनुभयो । उहाँले गर्भ अवस्थामा रहेकी महिलालाई सहयोग गर्ने, खानपानको कुरा सिकाउने गरिएको बताउनुभयो । बच्चा जन्मिएपछि कार्यक्रम गरेर उसको खानपान पोषणयुक्त बनाउन प्रतिवद्धता गराउने गरिएको उहाँको भनाइ छ ।
प्रेरणादायी पुस्तक लेखक एवं पत्रकार रोहित भण्डारीले सञ्चार माध्यमले यस्ता विषयमा प्राथमिकता दिन नसकेको बताउदै सामुदायिक रेडियोले यो मुद्धालाई उठाएको बताउनुभयो । उहाँले आफुले लेखेका पुस्तकमा सामाजिक रुपान्तरणका पाटो समावेश भएको बताउनुभयो । उहाँले सीआईएन व्यवस्थापक दीपक आचार्यलाई आफुले लेखेका सम्भव छ, देशमै सकिन्छ र दिए पुग्छ भन्ने तीन पुस्तक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभयो ।
सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले सबै समुदाय तथा सम्प्रदायको आवाजलाई उठाएर सामाजिक कुरीतिको अन्त्यको प्रयास गरिरहेको बताउनु भयो ।