Logo
१२ जेष्ठ २०८३, मंगलवार
|  Tue May 26 2026

युद्धविरामका बीच अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा आक्रमण


अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल राखिएका ठाउँ र समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्षित गर्दै हमला गरिएको हो ।

अमेरिकी सेन्ट्रल कमान्डले वक्तव्यमा ‘आत्मरक्षाका लागि’ र ‘इरानी फौजबाट उत्पन्न खतराबाट हाम्रो सेनालाई जोगाउन’ आक्रमण गरिएको बताएको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले ‘युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको’ उल्लेख गरेका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाइँ अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि यो हमला भएको छ । इरानका सरकारी सञ्चारमाध्यमले विस्फोटको आवाज सुनेपछि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन् । इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिएको छैन ।

अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने स्पष्ट भइसकेको छैन।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्ष पक्षहरू सहमतिको नजिक पुगेको बताएका थिए। तर उनले लगत्तै आफूले वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको जनाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार नै सम्झौता हुन सक्ने बताएका थिए। तर प्रवक्ता इस्माइल बाघेईको जवाफ थियो, ‘यो भन्नु सही हुन्छ कि हामी जारी छलफलमा धेरै विषयहरूमा एउटा निष्कर्षमा पुगेका छौँ… तर यसको अर्थ सम्झौतामा तत्कालै हस्ताक्षर हुने परिस्थिति छ भन्ने दाबी कसैले पनि गर्न सक्दैन।’

अमेरिका र इजरायलले फेब्रुअरी २८ तारिकमा इरानमाथि व्यापक स्तरको आक्रमण गरेपछि मध्यपूर्वभरि लडाइँ चर्किएको थियो। इरानले खाडीमा रहेका इजरेल र अमेरिकाका सहयोगी देशहरूमाथि आक्रमण गरेर त्यसको जवाफ दिएको थियो ।स्ट्रेट अफ होर्मुज उसले कडाइका साथ नियन्त्रणमा लिएपछि विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार