धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरेका छन् । नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नगर उपप्रमुख जुना चौधरी सहभागी भएकी थिइन् । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीलगायतको उपस्थिति थियो । यसअघि नगर प्रमुख शाहीको अवरोधपछि अस्पताल उद्घाटन रोकिएको थियो । यसपटक पनि उद्घाटन नगर्न आग्रह गर्दै आएकी मेयर शाहीको विरोधका बीच प्रदेश सरकारले कार्यक्रम सम्पन्न गरेको हो ।
लम्कीचुहा–२ का वडा अध्यक्ष सन्तोषकुमार ओलीले मुख्यमन्त्री शाहको प्रशंसा गर्दै उद्घाटन कार्यक्रम चारैतिर प्रहरी परिचालन गरेर गर्नुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए ।
संघर्ष समितिका संयोजक पारश देवकोटाले नगर प्रमुखले ‘गुण्डा’ परिचालन गरेर अस्पताल उद्घाटन रोक्न खोजेको आरोप लगाए । उनले जनताको पक्षमा काम गर्न सबैलाई आग्रह गर्दै अवरोध जारी राखे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि नगर प्रमुखको खोजी गर्दै विवाद नगर्न सुझाव दिएका थिए । मेयर शाहीले प्रदेश सरकारले जबर्जस्ती अस्पताल सञ्चालन गर्न खोजेको आरोप लगाउँदै विरोध गर्दै आएकी छन् । तर यसअघि उनले नै १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा सहमति दिएकी थिइन् ।
संघीय सरकारले सोहीअनुसार लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । तर सम्झौताविनै प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै मेयर शाहीले आपत्ति जनाउँदै आएकी छन् ।
निर्णय रोक्न मेयर शाही सर्वोच्च अदालत पुगेकी थिइन् । तर स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले अस्पताल सञ्चालन प्रक्रिया अघि बढाएको हो ।





