कास्की । विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउन लागेको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक सङ्घको आयोजनामा भुटानी टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
उहाँका अनुसार आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो । पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवर्द्धन तथा पोखरालाई अन्तरराष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिका अनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्नेछ । सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् ।








