सर्वोच्च अदालतभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। प्रहरीले लाठी चार्ज गर्दा केही कानुन व्यवसायी घाइते भएका छन्। नेपाल बार एसोसिएसनको कार्यालयबाट सर्वोच्च अदालत छिर्ने क्रममा वकिलहरुलाई प्रहरीले रोक्न खोज्दा घम्साघम्सी भएको थियो। प्रहरीसँग केहीबेर घम्साघम्सी भएपछि वकिलहरु अदालतको मुख्य गेटमा धर्ना दिन पुगेका छन्।
अदालत परिसरमा प्रहरीको उपस्थिति बढाइएको छ। सर्वोच्चमा काठमाडौंका वकिलहरुले पनि धर्ना दिने भएपछि प्रहरीको उपस्थिति बढाइएको बताइएको छ। आजको प्रदर्शनमा काठमाडौं उपत्यकाभरिका अदालतस्थित नेपाल बारका अधिवक्ता सर्वोच्च अदालतमा भेला भएका छन्।
यसअघि नेपाल बार एसोसियनको केन्द्रीय समितिले मात्र सर्वोच्च अदालतमा धर्ना दिँदै आएको थियो। आज उपत्यकाभित्र रहेका तीनवटै जिल्ला अदालत, उच्च अदालत र विशेष अदालतस्थित बार एकाइले पनि बारको केन्द्रीय समितिलाई साथ दिँदै प्रदर्शनमा उत्रिएका हुन्।
कात्तिक ८ गतेबाट न्यायाधीश र वकिलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै एकसाथ आन्दोलन थालेपछि बन्दीप्रत्यक्षीकरण बाहेकका रिटमा सुनुवाइ हुन सकेको छैन। मुद्दा सुनुवाइ नहुँदा सेवाग्राही मर्कामा परेका छन्।





