Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आन्दोलनरत कानुन व्यवसायीलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान (विज्ञप्तिसहित)


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा पहिलोपटक औपचारिक अभिव्यक्ति दिएका छन्। सर्वोच्च अदालतमा देखिएको अवरोध अन्त्य गर्न सबैको एकता आवश्यक रहेको प्रधानन्यायाधीश जबराले बताएका हुन्। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिँडाउने प्रयासविरुद्ध एकताबद्ध भएर सामना गर्न आग्रह गरेका हुन्।

प्रधानन्यायाधीश जबराले विज्ञप्तिमार्फत बार एसोसिएसनलाई संवादमा आउनसमेत आह्वान गरेका छन्। विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने क्रममा उठेका प्रश्नहरु तत्काल सम्बोधन गर्दै बार र बेन्चबीच हातेमालो हुनुपर्ने बताएका छन्।

प्रधानन्यायाधीशको विज्ञप्तिमा गत विहीबार सर्वोच्च अदालतमा परिसरमा वकिलहरुको धर्नामाथि भएको प्रहरी हस्तक्षेपप्रति दुःखसमेत व्यक्त गरिएको छ। न्यायपालिकाको गरिमा र सम्मान जोगाउन प्रधानन्यायाधीशको जत्तिकै अग्रसरता बार र यसका इकाइको पनि रहने भन्दै बार र बेन्चले आफ्नो दायित्व बिर्सनु नहुने उल्लेख गरेका छन्।

न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकका प्रश्नहरु अदालततर्फ नै सोझिएको भन्दै प्रधानन्यायाधीश जबराले जनताले विश्वासलाई शिरमा राख्दै आएको यस संस्थाको गरिमा र सम्मानलाई जोगाउन न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको बताएका छन्। ‘प्रधानन्यायाधीशका रुपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ। त्यति नै अग्रसरता बार एसोसिएसन र यसका इकाइबाट पनि अपेक्षा गरिएको हुन्छ भन्नु अतिशयोक्ति हुँदैन,’ विज्ञप्तिमा उल्लेख छ।

उनले विज्ञप्तिमार्फत न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा आफू अग्रसरता लिन तयार रहेकोसमेत प्रष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार