Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

घरमै नक्कली रासायनिक मल बनाउने गिरोह पक्राउ


झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो। प्रहरीले पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर नक्कली पोटास बनाई बिक्रीका लागि बजार लैजान ठिक्क पारेको १६ बोरा नक्कली मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

प्रहरीले सुरुङ्गा बजारस्थित भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली पोटास र पौड्यालको घरबाटै केही खाली बोरा, नुन र रातो माटो, नुन राख्ने ५० वटा खाली बोरा, बोरा सिलाउने सियो धागो समेत फेला पारेको छ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली घटनास्थल पुगेर छापामा मारेसँगै नक्कली मल बनाउने चार जना त्यहाँबाट भाग्न सफल भएका थिए। प्रहरीले घरधनी पौड्याल र नक्कली मल बिक्री गर्ने भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेको छ।

घरधनी पौड्याल पेसाले अटो चालक हुन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको एसपी भट्टराईले बताए। भट्टराई कृषि भण्डारले झापासहित पहाडी जिल्लाहरूमा रासायनिक मल पठाउँदै आएको थियो। भट्टराई कृषि भण्डारले नक्कली मल बेचेको स्थानीय किसानले थाहा पाएपछि कृषकहरूले विरोध प्रदर्शनसमेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार