Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देशभर चिसो बढ्यो, उपत्यकामा यो वर्षकै कम तापक्रम, जुम्लामा माइनस ५ डिग्री


काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकामा आज यस वर्षको जाडो सुरु भए यता कै कम तापक्रम मापन भएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अस्ति ९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो। जुम्लाको तापक्रम माइनसमा झरेको छ। पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

अन्य स्थानको तापक्रम पनि झर्ने क्रममा रहेको महाशाखाले जनाएको छ। अहिले बिहान तराईका अधिकांश क्षेत्रमा पातलो तुवाँलो लागेको महाशाखाले जनाएको छ। मौसमविद् नगरकोटीका अनुसार तुवाँलो घाम लागेसँगै हट्दै जानेछ।

काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगको मौसम आंशिक बदली रहेको छ।अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ । आज देशैभरको मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार