कमलविनायक –नगरकोट सडकको सडक अनुगमनमा जाँदा भौतिक पुर्वाधार तथा यातायात बिकास मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले घेराउ गरेका छन् । विगत ७ बर्षदेखि शुरु गरिएको सडक मर्मतको काम अझै नसकिएको भन्दै स्थानीयले घेराउ गरेका हुन् ।
सुरक्षकर्मीको बाक्लो घेराभित्र रहेकी मन्त्री यादव गाडी बाहिर नआएपछी स्थानीय झनै आक्रोशित भएका थिए । आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो । स्थानीयले लामो समय नाराबाजी गरेपछि मन्त्री यादव बल्ल गाडीबाट ओर्लिएकी थिइन् । गाडीबाट ओर्लिएपछि उनले अबको २ महिनामा सम्पुर्ण काम सम्पन्न नभए ठेकेदारसँग सम्झौता तोडिने बताइन् । तर, २ महिनाको समय धेरै हुने भन्दै स्थानीयले जनतालाई नढाँट्न मन्त्रीलाई चेतावनी दिएका थिए ।








