Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, खोप अभियान सुरू


कपिलबस्तुमा हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । गत असोज १८ गतेदेखि ५ वटा स्थानीय तहमा फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाउन सुरु गरिएको हो । आज लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले यशोधरा गाउँपालिकाबाट अभियानको सुभारम्भ गरेका छन् ।

उनले गाउपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेयलाई खोप खुवाएर सुभारम्भ गरेका हुन् । कपिलवस्तुमा करीब साढे २ लाख जनसंख्यालाई हैजाविरुद्धको खोप ‘स्यानकोल’ खुवाउन लागिएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हैजाको संक्रमणबाट अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० बाट प्राप्त खोप आज निशुल्क वितरण भइरहेको छ ।

कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा दुई चरणमा खोप खुवाइने छ । एक वर्षदेखि माथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार