सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । १४ हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।
क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ। सभापति देउवाले हिजो एक कार्यक्रमकाबीच सहमतिमा उम्मेद्वार तय गर्न आग्रह गरेका थिए ।





