राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरीमा रहेको बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना र दर्शनका लागि आज जलेश्वर जाँदै छिन्। राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको दर्शनका लागि आउने भएपछि स्थानिय उनको स्वागत, सत्कार र अभिनन्दन गर्ने तयारी अवस्थामा बसेका नगर प्रमुख रामशंकर मिश्रले बताए।
जलेश्वरवासीका तर्फबाट राष्ट्रपति भण्डारीलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । महोत्तरीको मटिहानीमा नवनिर्मित रङ्गशालाको राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ। मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले नगरपालिकाद्वारा निर्माण गरिएको रङ्गशालाको राष्ट्रपतिबाट बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
राष्ट्रपति जाने जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी मुनी जमिनभित्र रहेको छ, जहाँ २४ घण्टा जल भरिएको हुन्छ। यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ।





