काठमाडौबाट रुकुमको चौरजहारी विमानस्थलमा उडेको नेपाल एयरलाइन्सको जहाज सोमबार साँझ नेपालगन्जमा ‘नाइट स्टप’ गरेको छ । पाइलटको तोकिएको ड्यूटी आवर सकिएपछि विमान नेपालगन्जमै अवतरण गरिएकाे थियो । यसप्रति यात्रुहरूले असन्तुष्टि पोखेका छन् ।
किन यसो भयो त ? नेपाल वायु सेवा निगमका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ । त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् ।
यसै बाध्यताका कारण सोमबार नेपालगन्जबाट चौरजहारी उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको ती अधिकारीले जानकारी दिए । ‘ड्यूटी आवरको सीमा मिच्न पाइन्न, त्यसैले जहाज नेपालगन्जमा अवतरण गरिएको हो,’ उनले भने ।
उनका अनुसार चौरजहारीको मौसम खराब भएको रिर्पोट आएपछि जहाजलाई नेपालगञ्जमै अवतरण गरिएको हो । चौरजहारी पुगेर अवतरण गर्न नसकेको भए पाइलटको ड्यूटी आवर क्रस हुने अवस्था थियो ।





