नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको अधिवेशन झापामा गर्न माओपादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् । मंगलबार दशौं महाधिवनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापामा आएर महाधिवेशन गर्न चुनौती दिएका हुन् । प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेपछि ओलीले सो जवाफ दिएका हुन् ।
‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस्,’ उनले भने । कोही चुनाव कहीँबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उनको भनाइ छ ।
‘मलाई सिध्याउन यही (चितवन) बाटो हिँड्नु भयो भनेर आरोप लगाउनुहुन्छ । कसरी सकिन्न ? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि । उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्,’ उनले भने ।





