Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

अस्पतालको तीन तलामाथिबाट हाम फालेर बिरामीले गरे आत्महत्या


विराटनगरको गोल्डेन अस्पतालमा उपचार गरेबापतको २१ हजार रुपैयाँ तिर्न नसक्दा एक जना बिरामीले अस्पताल परिसरमै आत्महत्या गरेका छन् । उनले अस्पतालको तीन तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन । मोरङको धनपालथान गाउँपालिका–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डलले उपचार गरेको खर्च तिर्न नसकेपछि आत्महत्याको बाटो रोजेका हुन । मृतकका पाँच वर्षीय छोरा, चार वर्षीया छोरी र श्रीमती छन् ।

पैसा नतिरेकै कारण अस्पतालले मण्डलाई बन्धक बनाएर राखेको थियो । घर जान नपाएको र रकमको समेत अभाव भएका मण्डल एक्कासि अस्पतालको तीन तलामाथिबाट शुक्रबार हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो । तत्कालै त्यही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

छारेरोग र मानसिक समस्या भएपछि मण्डलाई परिवारले मंसिर ३ गते अस्पताल भर्ना गरेको थियो । पहिले आईसीयू र पछि वार्डमा सारेर उनको उपचार भइरहेको थियो । घर लग्दा हुने भनि अस्पतालले मंसिर ७ गते नै डिस्चार्जको अनुमति दिएका थिए । तर, उपचारवापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका घर लैजान नसकेको आफन्त श्रीराम कामतले बताए ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकाले अस्पतालले जतिसक्दो चाँडो घर लैजानु भनेको तर धेरै दबाव नदिएको दाबी गरे । उनले मण्डलमा मानसिक समस्या रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार