नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा शनिबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो। दुवै नेताहरुबीच भेटवार्ता भएको चाक्सीबारी स्रोतले पुष्टि गरेको छ।
भेटमा महामन्त्री कोइरालाले केही दिनअघि सर्लाहीमा गरेको टिप्पणीप्रति सिंहसँग माफी मागेको बताइएको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी कोइराला र सिंहबीच केही सातायता घोचपेच चलेको थियो ।
शनिबारको भेटपछि दुवै जनाले संयमित भएर अघि बढ्ने समझदारी गरेका छन् । सिंह एक्लै सभापतिको तयारीमा अघि बढेपछि शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सबै जना मिलेर जानुपर्ने अवस्था रहेको भन्दै नेताहरू एकपछि अर्कोले भेटेर सिंहलाई फकाउने प्रयास गरिरहेका छन् ।





