Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

ओलीले कसलाई बनाउलान् वरिष्ठ उपाध्यक्ष र महासचिव ?


नेकपा एमालेको १० औं महाधिवेशन आउँन अब केही दिन मात्र बाँकी छ । मंसिर १० देखि १२ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको धेरै तयारी पूरा भइसकेको एमालेले जनाएको छ । एमालेको महाधिवेशन जतिजति नजिकिँदो छ त्यति त्यति केही कौतुहलता पनि बढ्दो छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली दोहोरिने विषय निर्विवाद जस्तै रहेपनि वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओलीको आशिर्वाद कसलाई रहला भन्ने विषय यतिबेला चासोको विषय बनेको छ ।
अध्यक्ष पछिको बरियतामा रहने वरिष्ठ उपाध्यक्षको पदका अकांक्षी एमालेमा धेरै छन् । तर, सर्वसम्मत पदाधिकारी चयनको योजनामा रहेका ओलीले कसलाई वरिष्ठ उपाध्यक्ष बनाउँलान् त्यो भने यसै भन्न सकिने अवस्था छैन ।
ईश्वर पोखरेल दुई कार्यकाल महासचिव रहिसकेका कारण उनी फेरि महासचिव पदमै दोहोरिन विधानतः मिल्दैन । ओलीलाई तपाईँ अब आराम गर्नुहोस् म अध्यक्ष बन्छु भनेर मुख खोल्ने हिम्मत पनि पोखरेलसँग छैन । हिम्मत नै भएपनि ओलीले सर्लक्क हस् त्यसै गरौं न त भन्ने सम्भावना छैन । ओलीले अध्यक्ष नछाड्ने भएपछि पोखरेलले अब ताक्ने भनेको वरिष्ठ उपाध्यक्षको पद नै हो । तर, त्यो पद पाउँन पोखरेललाई त्यति सजिलो छैन । सुवास नेम्वाङ, रामबहादुर थापा बादल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता वरिष्ठ उपाध्यक्ष पदका अन्य आकांक्षी हुन् । तर, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली बाहेकका अन्य सबै आकांक्षी भने ओलीका विश्वास पात्र । अब यस्तो अवस्थामा वरिष्ठ उपाध्यक्षको पद कसले पड्काउला ? यो नेपाली राजनीतिमा रुची राख्नेहरुका लागि स्वभाविक रुपमा नै चासोको विषय हो ।
ईश्वर पोखरेललाई ओलीले वरिष्ठ उपाध्यक्ष नबनाउलान् भन्न चाहिँ सकिन्नँ किनकि ओलीलाई तात्कालिन नेकपा कार्यकालमा सहयोग गर्ने मध्येका एक प्रभावशाली नेता पोखरेल पनि हुन् । ओलीलाई अप्ठ्यारो परेका बेला पोखरेलले काँध थापे । ओलीले रक्षामन्त्री बनाएका पोखरेलले सरकारका अनेकन खराब कामको पनि रक्षा गरिरहे । त्यसैले पनि ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्षको पद दिएर त्यो गुण तिरे भने त्यति धेरै आश्चर्य नहोला ।
ओलीका अर्का विश्वास पात्र सुवासचन्द्र नेम्वाङ अहिले एमाले संसदीय दलका उपनेता हुन् । उनको आकांक्षा पनि वरिष्ठ उपाध्यक्षका लागि देखिन्छ । सुवासचन्द्र नेम्वाङ जसले संसद विघटनका बेला ओलीलाई तिर्नै नसक्ने गुण लगाएका छन् । संविधानसभाको अध्यक्ष रहेका नेम्वाङले संसद विघटनलाई सही भनिदिनू र त्यतिबेला भएको ध्रुविकरणमा ओलीका साथ लाग्नु सामान्य विषय होइन । त्यसैले पनि नेम्वाङले यतिबेला एमालेको वरिष्ठ उपाध्यक्ष मलाई चाहियो भन्दा ओलीलाई नाईँ भन्न कठिन नै छ ।
वरिष्ठ उपाध्यक्षका अर्का आकांक्षी रामबहादुर थापा बादल माओवादी केन्द्र नै त्यागेर ओलीलाई संकट परेका बेला साथ दिएका व्यक्ति हुन् । वर्षौंदेखि आफ्ना भनिएका मान्छेले नै धोका दिँदा पनि राजनीतिक भविष्य नै दाउमा राखेर ओलीतिर लागेका बादललाई पक्कै ओलीले धोका नदेलान् । माओवादी त्यागेर आएकाहरुको उचित सम्मान हुन्छ भन्ने देखाउँनका लागि पनि बादललाई महत्वपूर्ण जिम्मेवारी दिर्नैपर्ने बाध्यता ओलीलाई छ । त्यो महत्वपूर्ण जिम्मेवारी भनेको पार्टीमा वरिष्ठ उपाध्यक्षको पद हुन सक्छ ।
भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य एमालेका तेस्रो धारका नेताहरु हुन् । जसले अन्तिम समयमा माधव नेपाललाई धोका दिएर ओलीतिरै बसे । यी तीनै जना नेता जो ९ औं महाधिवेशनमा नै एमालेको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उपाध्यक्ष भइसकेका व्यक्तिले १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको पद ताक्नु अन्यथा होइन । तर, ईश्वर पोखरेल, सुवास नेम्वाङ रामबहादुर थापा बादल जस्ता आफू निकटका नेतालाई छाडेर ओलीले नेकपा विवादका बेला आफ्नो खोइरो खनेका फरक गुटका यी नेताहरुलाई वरिष्ठ उपाध्यक्षको पद दिने सम्भावना कम नै होला । तर, फरक गुटकालाई पनि ओलीले एमालेमा उत्तिकै सम्मान गर्छन् भन्ने देखाउँनका लागि पनि त्यो पद भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य मध्ये कुनै एकको पोल्टामा ओलीले नहाल्लान् भन्न सकिन्नँ ।
हुन त एमाले विधानमा वरिष्ठ उपाध्यक्षपछि अन्य चार जना उपाध्यक्ष रहने व्यवस्था छ । पदीय भागबण्डा मिलाउँनका लागि अघि उल्लेख गरिएका मध्ये केही नेताले उपाध्क्ष पदमा नै चित्त बुझाउनुपर्ने पनि हुन सक्छ । एक जना महासचिव, एक जना उपमहासचिव र सात जना सचिवको व्यवस्था छ एमाले विधानमा । एमाले पछिको वरियतामा रहने वरिष्ठ उपाध्यक्ष पदमा जसरी धेरैले आँखा लगाएका छन् त्यसैगरी महासचिव पदमा पनि आँखा लगाउँनेको संख्या एमालेभित्र ठूलो छ ।
विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुको ध्यान यतिबेला एमालेको महासचिव पदमा गएको कुरा ओपन सेक्रेट जत्तिकै छ । विष्णु पौडेल र शंकर पोखरेल ओलीका दरिला खम्बा मानिन्छन् भने घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माधव नेपाल पक्षबाट विद्रोह गरेर आएका नेता हुन् । ओलीले आफ्ना दाहिने हात अर्थात विष्णु पौडेल र शंकर पोखरेललाई छाडेर घनश्याम भुसाल या सुरेन्द्र पाण्डेलाई महासचिव बनाउँने सम्भावना कमजोर नै छ । तर, उस्तै परे अध्यक्षमा नै उम्मेद्वारी दिन पछि नपर्ने गाइँगुँइ हल्ला चलाएका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको व्यवस्थापन पनि ओलीका लागि सजिलो भने छैन । फरक कित्ताका नेता भनेर भुसाल र पाण्डेहरुलाई किनारा लगाइदिने सोच ओलीमा आयो भने त्यसले दिर्घकालिन रुपमा असर गर्न सक्छ । त्यसो त योगेश भट्टराई, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ लगायतका नेता पनि छन् एमालेमा । जो यसअघि नै सचिव रहिसकेका । अब उनीहरु त्यही पदमा पक्कै बस्न नमान्लान् त्यतिबेलाको व्वस्थापन पनि कम्ता चुनौतीपूर्ण छैन ओलीका लागि । सँगसँगै महेश बस्नेत, गोकुल बास्कोटा लगायतका ओलीका सारथी पनि छन् जसलाई ओलीले ख्याल नगरी सुखै छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार