Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

१८ वर्षभन्दा माथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो


सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ। पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए।

उनले यसअघि खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरे। सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ। दुई करोड १७ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ।

अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ। काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले १८ वर्षभन्दा माथिका सबैलाई काठमाडौँका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिरहेको बताए।

उनका अनुसार कार्यालयले वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, कलङ्कीको शहीद मेमोरियल अस्पताल, बल्खुमा बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कको लोत्से भवन र जडीबुडीस्थित जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिरहेको छ।

यसैगरी उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पनि हिजोदेखि फाइजर खोप उपलब्ध गराउन थालिएको बताए। उनले शहीद गङ्गालाल हृदयकेन्द्र, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल र सिभिल अस्पतालमा फाइजर खोप लगाउन थालिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार