सर्वोच्च अदालतको फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी कानुन राजपत्रमा प्रकाशित भएको छ। पेसी तोक्ने विषयमा विवाद बढेपछि गत २ मंसिरमा प्रधानन्यायाधीशरहित फुल कोर्टले पेसी तोक्न गोलाप्रथा लागू गर्ने निर्णय गरेको थियो। राजपत्रमा प्रकाशित भएसँगै यसले कानुनी मान्यता पाएको छ। यसअघि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय कार्यान्वयन हुने नहुने विषयले चर्चा पाएको थियो।
निर्देशिका अनुसार गोला प्रक्रियाद्वारा बृहत् पूर्ण र पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेछ । गोला तान्न समान रूप, रङ, आकार र बनोटका गोटी प्रयोग गरिनेछ। त्यस्ता गोटीलाई त्यसपछि अपारदर्शी थैलीमा राखिनेछ र न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एकवटा गोटी तान्नुपर्ने निर्देशिकामा उल्लेख छ।
त्यसरी तानेको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुनेगरी सबैलाई देखाउनुपर्ने हुन्छ। जसको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा राखिन्छ। गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुनेगरी प्राथमिकता निर्धारण गरिने निर्देशिकामा छ ।





