प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै विजयी भएको हो।जितका लागि आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको लक्ष्य दिएको थियो। जवाफमा कर्णाली प्रदेश १४ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटियो।
कर्णाली प्रदेशलाई सस्तैमा समेट्ने क्रममा आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिए भने सुशन भारीले र साहब आलमले दुईरदुई विकेट लिए।सोमपाल कामी र विक्रम सोबले एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको आर्मीले १९ दशमल एक ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार गरेको थियो।
बलिङतर्फ कर्णालीका प्रकाश जैसीले तीन विकेट लिए । अनुज चुनराले दुई तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एकरएक विकेट लिए। आजदेखि सुरु भएको प्रतियोगितामा विभिन्न १० टोली सहभागी छन्।प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ रहेका छन्।
त्यस्तै समूह ‘बी’ मा शसस्त्र प्रहरी बल (एपिएफ) क्लब, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने आगामी माघ ५ गते हुनेछ।






