सोमबार ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगर अवतरण हुन नसकेर काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानै बाट उडान सुरु गरेको छ ।
प्राविधिकहरुले जाँचेपछि जहाजले मंगलबार बिहानैदेखि उडान सुरु गरेको हो । जाँचको क्रममा कुनै समस्या नभेटिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको बुद्धका सिनियर क्वालिटी एसुरेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठले बताए ।
सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।
मंगलबार बिहानै ३ उडान गरिसकेको जहाजले दिउँसो ४ उडान गर्ने तालिका छ । अहिलेसम्म उक्त जहाजले काठमाडौं–सिमरा दुईपटक उडान गरेर फेरि काठमाडौंबाट पोखरातर्फ लागिसकेको छ ।






