काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार दुर्घटना भएको छ। दुर्घटनाबाट बसमा रहेका ३५ यात्रु घाइते भएका छन्।
रिजर्व गरिएको बा २ ख ३२६४ नम्बरको बस लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं गइरहेको बेला सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले बताए।
डिएसपी बस्नेतका अनुसार घाइतेमध्ये चालक र सहचालकसहित ४ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र बाँकीको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ। उनले यात्रुहरू बसबाट बाहिर नउछिट्टिएको र बसभित्रै सिट र झ्याललगायतमा ठोक्किएर सामान्य घाइते भएको जानकारी दिए।





