Logo
१० श्रावण २०८३, आईतवार
|  Sun Jul 26 2026

उड्डयनमन्त्री  प्रेमबहादुर आलेले गरे विमानस्थलको छड्के अनुगमन


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमन गरेका छन्। छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाए। अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, यहाँका पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताए।

यसैगरी मन्त्री आलेले आइतबार काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेका छन्।उनले भने, ‘भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो।’

आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा आज गन्तव्यमा पु¥याइएको छ। मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए।

मन्त्री आलेले आफू पदमा रहुञ्जेलसम्म नेपाल वायुसेवा निगमलाई माथि उठाउन लाग्ने बताए। अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले कुनै पनि समस्या भोग्नु नपरोस् भनेर मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि निकै साँघुरो तथा असहज भएकाले यहाँका जहाज धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, विराटनगरलगायतका विमानस्थलमा पार्किङको व्यवस्थाका लागि पहल भइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार