Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

गृहजिल्लामा गृहमन्त्रीलाई एक क्विन्टलको माला


गृहमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला र गृहनगर पुगेका गृहमन्त्री बालकृष्ण खाँणलाई विमानस्थलमै तामझामका साथ स्वागत गरिएको छ । सो क्रममा उनलाई कार्यकर्ताहरुले ९९ किलोको माला लगाइदिएका छन् ।

मन्त्रीको स्वागतमा आज बिहानैदेखि कांग्रेस नेता तथा कार्यकर्ताको भैरहवास्थित गौतमबुध्द विमानस्थलमा थामिनसक्नुको भीड थियो । भीआईपी कक्षमा खुट्टा राख्ने ठाउँ नभएपछि सुरक्षाकर्मीलाई व्यवस्थापनमा हम्मेहम्मे परेको बताइन्छ । विमानस्थलको मुख्यद्वारमै राखिएका सवारी साधनका कारण विमानस्थल छिर्ने अन्य यात्रुहरु बाहिरको सडकदेखि नै हिँड्न बाध्य भएका हुन् । पाल्पाको रामपुरबाट काठमाडौं जान आएका हरिशरण श्रेष्ठ सडकमा तेर्साइएका सवारी साधनका कारण मूल सडकदेखि नै हिँडेर विमानस्थल छिरेका थिए ।

विमानस्थलमा स्वागतको लागि उभिएका सबैका हातमा माला र खादा थिए तर अधिकांशको अनुहारमा मास्क भने थिएन । कानुन कार्यान्वयन गराउने देशको गृहमन्त्री आउँदा सबैजसो बिना मास्क निर्धक्क उभिएर कानुनको राज्यलाई चुनौति दिइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार