बाँकेका दुई महिलाको न्यायका निम्ति आमरण अनसन बसिरहेकी रुवी खान र सरकारबीच सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको छ। नेपालगञ्जदेखि काठमाडौंसम्म २० दिनमा ५२० किलोमिटर पैदल यात्रा गरेका पीडितका आफन्त र अधिकारकर्मी अनशन बसेको १० दिनपछि आज मंगलबार सहमति जुटेको हो। सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानव अधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन्।
नकुन्नी धोबी र निर्मला कुर्मीलाई न्याय दिलाउन पीडितका आफन्त र अधिकारकर्मीसहित नेपालगन्जबाट १४ जनाको टोली पाँच सय २० किलोमिटर पैदल हिँडेर गत २० असोजमा काठमाडौं आइपुगेको थियो ।काठमाडौंमा उनीहरू धर्ना र अनशन बसिरहेका छन् । अनशन बसेको १० दिनपछि हिजोबाट मात्र सरकारले आन्दोलनरत पक्षसँग छलफल थालेको थियो ।माइतीघरमा धर्ना बसिरहेका वेला २२ असोजमा प्रहरी प्रशासनले धडपकड गरी नियन्त्रणमा लिएको थियो । चर्को विरोध भएपछि अरू आन्दोलनकारीलाई प्रहरीले छाडे पनि नेतृत्व गरिरहेकी रुवी खानलाई पक्राउ गरेर नेपालगन्ज पठाएको थियो ।
त्यसपछि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २८ असोजमा खानलाई रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको थियो । गत २२ असोजदेखि अनशन सुरु गरेकी खानले प्रहरी हिरासतमा समेत त्यसलाई निरन्तरता दिएकी थिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । उनले त्यहाँ पनि अनशन जारी राखेकी छिन् । बाँकी पीडितका आफन्त र अधिकारकर्मीहरू हरेक दिन माइतीघरमा धर्ना दिइरहेका छन् । नकुन्नी धोबी र निर्मला कुर्मीलाई जीवन त्याग गर्न बाध्य पार्ने आरोपीहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै आएका छन् ।





