प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन गर्न अमेरिका तयार रहेको बताएका छन्। आफ्नो नेतृत्वको सरकार बनेको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले एमसीसी ‘करेक्सन’ गर्न आफू तयार रहेको अमेरिकाले बताएको जानकारी दिएका हुन्।
‘एमसीसी विशुद्ध नेपालको हितमा छ’, बुधबार बिहान सरकारी पत्रिका गोरखापत्रमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘त्यही पनि एमसीसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ। अमेरिकाले नेपालको कानुनभन्दा माथिको होइन भनेर भनिसकेको छ।’
प्रधानमन्त्री देउवाले एमसीसीको विषयमा जुन प्रचार गरिएको छ, त्यो कुरा नभएको दाबी पनि गरेका छन्। ‘एमसीसी नेपाललाई दिइएको त्यो ‘ग्रान्ट’ हो। ब्याजमा होइन यो’, देउवाले भनेका छन्, ‘ऋण होइन, अनुदान हो। केही तत्त्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन्।’एमसीसी नेपालको कानुनभन्दा माथि छ भन्ने कुराको पनि प्रधानमन्त्री देउवाले खण्डन गरेका छन्।





