Logo
१० श्रावण २०८३, आईतवार
|  Mon Jul 27 2026

बाढीपहिरोमा परेर मृत्यु हुनेकाे संख्या ३१ पुग्यो, ४३ जना बेपत्ता


अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन्। विपद्‍मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्। सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ।

अहिलेसम्मको प्राप्त विवरणअनुसार इलाममा सात, पाँचथरमा छ, डोटीमा सात, धनकुटामा छ, सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको उनले जानकारी दिइन्। उनले पहिरोमा परेर हुम्लामा छ, बझाङमा २३, कैलालीमा चारसहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएका बताइन्। अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० जनाको उद्धार गरिएको छ।

प्राप्त विवरणमा बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ। नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ।

जसका कारण अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्णबदली र बाँकी भू-भागमामा सामान्यदेखि पूर्णबदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार