निरन्तरको वर्षातसँगै सोलुखुम्बु जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा दुई विदेशीसहित १० जना पर्यटक मेरा पिक क्षेत्रमा फसेका छन्। जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्ने मेरापिक आरोहण गरेर फर्कने क्रममा मङ्गलबार दिउँसोदेखि उनीहरू हिउँमा फसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख कबित कटवालका अनुसार निरन्तर परेको पानी तथा हिमपातका कारण पाँच हजार ७०० मिटरको मेराला ओडारमा चार, हाइक्याम्पमा चार र पाँच हजार ३०० मिटरको बेसक्याम्पमा दुईजना आरोही फसेका हुन्।
प्राप्त जानकारीअनुसार मेरालामा फसेका चारमध्ये एक बेलायती नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरू पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन्। त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई र बेस क्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका हुन्। उनीहरू एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत् मेरापिक आरोहणमा गएका थिए। मौसम प्रतिकूलका बीच पनि उनीहरूको उद्दारका लागि महाकुलुङको खारेबाट सात जना क्लाइम्बिङ गाइड मेराला ओडारमा पुगेका छन्।
एडभेन्चर भिक्टोरी सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार मेराला ओडारमा चार जना बसेको भए पनि उद्दारमा पुगेकाहरूले तीन जनालाई जटिल अवस्थामा भेटिएको छ। हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा भए पनि मेराला ओडारमा फसेकाहरूसँग कुनै पनि खानेकुरा नहुँदा समस्या भएको उनको भनाइ छ। मौसम अनुकूल हुनसाथ उद्दारका लागि हेलिकप्टर पठाइने बताइएको छ ।





