Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

अझै रोकिएन कपिलवस्तुमा हैजाको प्रकोप : हप्ता दिनमा नियन्त्रणमा आएको भन्ने मन्त्रालयको झुटाे विज्ञप्ति


कपिलवस्तु जिल्लाको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको हैजा अझै नियन्त्रणमा आउन सकेको छैन । अस्पतालमा चिकित्सकको अभाव भएपछि हैजा नियन्त्रणमा आउन नसकेको हो । हैजाको प्रकोप फैलँदा पनि कृष्णनगरको शिवराज अस्पताल एक जना मात्र चिकित्सकले भरमा चलेको छ । अहिले पनि दैनिक ३० जना हैजाका बिरामी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ ।

दूषित पानीका कारण प्रकोप फैलिएको भनिए पनि त्यसको नियन्त्रणमा जनस्वास्थ्य कार्यालयले चासो नदेखाएको स्थानीयको आरोप छ । कृष्णनगरमा फैलिएको हैजाका कारण अलिेसम्म पाँच जनाको मृत्यु भएको जनस्वास्थ्यको तथ्याङ्क छ । तर, स्थानीय भने जनस्वास्थ्य कार्यालयले मृतकको तथ्याङक लुकाएको आरोप लगाउँछन् । प्रकोप नियन्त्रण गर्न नसकेको जनस्वास्थ्य कार्यालयले आफ्नो कमजोरी लुकाउन मृतकको सङ्ख्या घटाएको उनीहरूको आरोप छ ।

चिकित्सकको अभावका कारण प्रभावकारी सेवा दिन सकेको छैन । अहिलेकै ढंगले विरामीको संख्या बढ्दै जाँदा औषधिको अभाव हुनसक्ने अस्पतालको चेतावनी छ । स्वास्थ्य मन्त्रालयले कपिलवस्तुमा फैलिएको हैजा हप्ता दिनमा नियन्त्रणमा आएको विज्ञप्ति निकालेको थियो । तर, तीन हप्ता पुग्नै लाग्दा पनि कृष्णनगरमा फैलिएको हैजा नियन्त्रणमा आउन सकेको छैन ।

 


प्रतिक्रिया दिनुहोस !
विचार