Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो, ४१ जना अझै बेपत्ता


अविरल वर्षापछि बाढीपहिरोमा परेर मुलुकभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ। गृह मन्त्रालयले बिहीबार बेलुकासम्मको तथ्यांक संकलन गरी जारी गरेको विवरणअनुसार ४१ जना घाइते भएका छन् भने यति नै जना बेपत्ता भएका छन्।

विवरणअनुसार सबैभन्दा बढी मृत्यु प्रदेश १ मा भएको छ। इलाममा १४, पाँचथरमा २८, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १-१ जना गरी प्रदेश १ मा मात्र ६१ जनाको मृत्यु भएको हो । २० जना घाइते र १३ जना बेपत्ता छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन्। डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन्। बझाङमा मृत्यु भएकाको संख्या ८ पुगेको छ। २१ जना बेपत्ता छन्। यसैगरी कर्णालीमा ७, लुम्बिनीमा ३, बागमतीमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।​

प्रहरीको पछिल्लो बुलेटिनअनुसार बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेका छन्। ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार