नेकपा एमालेको स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ । हिजो बिहीबार बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । जसका लागि रामबहादुर थापा ‘बादल’को नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।
एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी-पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ । शनिबार वडा अधिवेशन सुरु हुने कार्यतालिका रहेका बेला स्थायी कमिटी बैठक बस्न लागेको हो ।
आजको बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ। उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । यो कार्यदलको बैठक बिहीबार पनि बसेको थियो ।
रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।
माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। अध्यक्ष ओलीले १० बुँदेको औचित्य सकिएको बताएपछि मध्यमार्गी नेताहरु रुष्ट बनेका छन् । आजको बैठकमा १० बुँदेको छिनोफानो गर्ने तयारीमा मध्यमार्गी नेताहरु रहेका छन् ।




