Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै


प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दैछन् । आज दिउँसो १ बजे डाकिएको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी भएको एमाले प्रदेशसभा सदस्य हिक्मत कार्कीले जानकारी दिए ।

दसैँ मनाउन गएका सबै प्रदेशसभा सदस्यहरु विराटनगर फर्किनसकेकाले प्रस्ताव आज टेबुल भए पनि मतदान भने अर्को बैठकमा हुने सम्भावना रहेको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराए पनि त्यसअघि नै संसद बैठक स्थगित भइसकेको थियो ।

असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्राबधानका कारण आचार्य विश्वासको मत लिन बाध्य छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसदको बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ । आचार्य अल्पमतमा परेकोले उनको पद गुम्ने निश्चित छ । यता सत्ता गठबन्धनले राजेन्द्र राइलाई मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार